विराटनगर । मोरङ क्षेत्र नम्बर–६ का नेकपा (एमाले)का उम्मेदवार विनोद ढकालले शनिबार विराटनगरका विभिन्न वडामा पुगेर जनसम्पर्क, संगठन विस्तार र सामाजिक गतिविधिलाई एकैसाथ अघि बढाएका छन् । एकैदिन घरआँगनदेखि खेल मैदानसम्म देखिएको उनको सक्रियताले चुनावी माहोल थप तातेको छ ।
ढकालले दिनको सुरुआत विराटनगर–०४ इक्राही ज्वाला टोलमा स्थानीय बासिन्दासग भेटघाट गर्दै उनीहरुको समस्या सुनेका थिए । भेटघाटका क्रममा स्थानीयले सडक, खानेपानी, स्वास्थ्य सेवा, रोजगारी र दीर्घकालीन विकासका विषयमा आफ्ना समस्या र अपेक्षा राखेका थिए । ढकालले जनताको आवश्यकता र सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
विराटनगर–०४ का स्थानीय बासिन्दाहरुले उम्मेदवार ढकाललाई चुनावका बेला मात्र होइन, पहिल्यैदेखि यहा आइरहेको, समस्या सुन्ने र बुझ्ने नेताका रूपमा लिएकाले उनीबाट धेरै अपेक्षा गरेका बताएका थिए ।
शनिबारै ढकाल विराटनगर–१२ पुगेर स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूसँग भेटघाट तथा छलफलमा सहभागी भए । छलफलमा आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, घरदैलो अभियान र जनसम्पर्क विस्तारलाई अझ प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।
शनिबार नै विराटनगर–०७ मा नेकपा (एमाले)को सम्पर्क कार्यालय स्थापना गरिएको छ । कार्यालय उद्घाटनपछि ढकालले नेता–कार्यकर्ता तथा समर्थकहरूसँग भेटघाट गर्दै यसलाई जनताको गुनासो, सुझाव र विचार संकलन गर्ने केन्द्रका रूपमा विकास गरिने बताए । “यो सम्पर्क कार्यालय पार्टीको मात्र होइन, जनताको साझा स्थान हुनेछ,” उनले भने ।
त्यसैगरी, ढकाल विराटनगर–०४ इक्राहीमा आयोजित खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । समापन समारोहमा उनले खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोच विकास गर्ने उल्लेख गर्दै युवालाई खेलकुदमार्फत समाज र राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरे ।
कार्यक्रममा सहभागी युवा खेलाडीहरुले राजनीतिक कार्यक्रममा मात्रै होइन, खेलकुदजस्ता युवासग प्रत्यक्ष जोडिएका कार्यक्रममा उम्मेदवार स्वयं उपस्थित हुँदा आफूहरुलाई हौसला र सम्मान दुवै मिल्ने बताए ।
एकैदिन घरदैलो जनसम्पर्क, संगठनात्मक भेटघाट, सम्पर्क कार्यालय स्थापना र खेलकुद कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै ढकालले आफू जनतासँग नजिक रहेर काम गर्ने उम्मेदवार भएको सन्देश दिएका छन् ।
