राजनीति

सर्लाही ४ मा नेपाली कांग्रेसबाट एकै परिवारका तीन जनाको नाम सिफारिस, विरोधपछि एक नाम हटाइयो

Ad 1
Ad 2
Ad 3
Ad 4

सर्लाही । सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं.४ बाट नेपाली कांग्रेसले एकै परिवारका तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ।

 

विरोध चुलिएपछि अन्ततः तीमध्ये एक जनाको नाम अन्तिम सूचीमा समावेश भएन।

 

कांग्रेसका हालका प्रदेशसभा सदस्य वीरन्द्र प्रसाद सिंहको नाम प्रतिनिधिसभा सदस्यकालागि सिफारिस गरिएको थियो। त्यस्तै, उनका भतिजा सुधिर कुमार सिंहको नाम पनि प्रतिनिधिसभा सदस्य मा सिफारिस गरिएको थियो।

 

तर सुधिरको उमेर कानुनी रूपमा उम्मेदवारीका लागि नपुगेको बताइएको छ। साथै, सुधिरकी आमा तथा वीरेन्द्र प्रसाद सिंहकी सहोदर भाउजु बेबी सिन्हालाई समानुपातिकतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको थियो।

 

पार्टीको स्पष्ट मापदण्ड र केन्द्रीय निर्देशन हुँदाहुँदै प्रदेशसभामा बहाल रहेका वीरन्द्र प्रसाद सिंहलाई प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस गरिनु र उमेर नपुगेका व्यक्तिको नाम प्रस्ताव हुनु पार्टी अनुशासन विपरीत भएको भन्दै कांग्रेसभित्र असन्तुष्टि देखिएको हो।

 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंसिर १८ गते जारी गरेको परिपत्रमा प्रदेशसभा सदस्यलाई प्रतिनिधिसभाको उम्मेदवार नबनाउन स्पष्ट निर्देशन दिएका थिए।

 

गत मंसिर २३ गते मंगलबार क्षेत्र नं. ४ मा बसेको उम्मेदवार सिफारिस बैठकले यी तीनै नाम केन्द्रमा पठाएको थियो। त्यसपछि पार्टीभित्र सम्भावित विरोधको आँकलन गर्दै सिफारिस सूची गोप्य राखिएको कांग्रेसका नेताहरू बताउँछन्।

 

तर पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएपछि उक्त सूची सार्वजनिक भएको हो। केन्द्रले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा भने सर्लाहीबाट बेबी सिन्हाको नाम समावेश गरिएको छैन।

 

यस निर्णयलाई पार्टीको मापदण्ड र केन्द्रीय निर्देशन विपरीत भएको दाबी गर्दै कांग्रेस महासमिति सदस्य डा. राजेश्वर सिंह कुशवाहाले केन्द्रीय समितिमा निवेदन दर्ता गराएका छन्। उनले विवादास्पद सिफारिस बदर गर्न माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button