सशस्त्र प्रहरी बल पर्साद्वारा १२० केजी प्रतिबन्धित लागुऔषध गाँजा बरामद, तस्कर फरार

वीरगन्ज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले १२० केजी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा गाउँस्थित धुतहा खोलाको किनारमा सशस्त्र प्रहरी बल, नेपाल विओपी प्रसौनीभाठाबाट खटिएको गस्ती टोलीले उक्त गाँजा बरामद गरेको हो।

गस्तीका क्रममा नेपालबाट भारततर्फ लागुऔषध गाँजा बोकेर लैजाँदै गरेका केही व्यक्तिहरू प्रहरी टोलीलाई देख्नासाथ ८ वटा प्लास्टिकका पोका छोडी फरार भएका थिए। शंका लागेर ती पोका खोली जाँच गर्दा जम्मा १२० केजी लागुऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ। फरार व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ।
सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा लागुऔषध तथा तस्करी नियन्त्रणका लागि निगरानी र गस्तीलाई थप कडा बनाइएको जनाएको छ।



