मधेस प्रदेशसमाचारस्थानीय

मधेश सरकार विस्तार र विश्वासको मत सम्बन्धमा पाँच दल चन्द्रनिगाहपुरमा निर्णायक बैठकमा

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको भागबण्डा टुंग्याउने उद्देश्यले सत्तारूढ पाँच दल आज निर्णायक बैठकमा बस्दैछन्। बैठक रौतहटको चन्द्रनिगाहपुरमा चल्दै छ।

बैठकमा जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू सहभागी हुनेछन्। स्रोतका अनुसार बैठकले सरकार विस्तार, मन्त्रालय बाँडफाँट, सरकारको कार्यादेश र विश्वासको मत सम्बन्धी प्रक्रियाबारे अन्तिम निर्णय लिने तयारी गरेको छ।

त्यससँगै बैठकमा हालै जनमत पार्टीबाट फुटेको जनस्वराज पार्टी र नागरिक उन्मुक्ति पार्टी लाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल हुने बताइएको छ।

गत असोज २९ गते पाँच दलको समर्थनमा लोसपा नेता जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका थिए। उनले भोलिपल्ट असोज ३० गते पद तथा गोपनीयताको शपथ लिएर जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल लाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए।

तर सत्तारूढ दलबीच मन्त्रालय बाँडफाँटको सूत्रमा सहमति नजुटेकाले एक साताभन्दा बढी समय बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। दुई मन्त्रीलाई समेत अहिलेसम्म जिम्मेवारी तोकिएको छैन।

आजको बैठकबाट मन्त्रालय बाँडफाँटको अन्तिम रूपरेखा तय गर्ने र सरकार सञ्चालनको प्रारूपमा सहमति जुटाउने अपेक्षा गरिएको छ। नेताहरूको भनाइअनुसार, सहमति जुटेपछि मुख्यमन्त्री सोनलले आगामी केही दिनमै मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार, मधेशको नयाँ सत्ता समीकरणले प्रदेशको सत्ता सन्तुलनमा मात्रै होइन, संघीय तहमा समेत प्रभाव पार्न सक्ने सम्भावना रहेको छ। जसपाको प्रमुख भूमिका र जनमत पार्टीको आन्तरिक विभाजनले आगामी चरणमा प्रदेश राजनीतिलाई नयाँ मोड दिने अनुमान गरिएको छ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button