“केपी ओली सोझो छ भन्दैमा जसले जहाँ बोलाउँछ त्यहाँ बयान दिन जाँदैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताएका छन्। सम्पादकहरूसँगको संवादमा बोल्दै आफ्नो सम्पत्ति छानबिन गर्न सम्पादक मण्डलसँग पनि माग गरे।
उनले भने, मेरो सम्पत्ति पत्रकार महासङ्घ र सम्पादक मण्डलले गरे पनि हुन्छ। मेरो जलेका घरको खरानीको कणकण हिसाब गरे हुन्छ। त्यो भन्दा मैले कमाएको छैन। खाता रोक्ने रे। मैले सांसद र प्रधानमन्त्रीको हैसियतले पाएको केही तलब छ, त्यही रोक्ने होला। त्यो त दश बिस लाख होला एक छिनमा हिसाब निस्किहाल्छ। त्यसलाई आयोग चाहिन्छ र ?
उनले बैङ्कहरूसँग स्टेटमेन्ट लिएर हेर्न चुनौती दिए। उनले सबैको छानबिन गर्न तयार रहेको भन्दै बिचौलियाहरूको पनि छानबिन गर्न माग गरे। उनले थपे, ‘केपी ओली सोझो छ भन्दैमा जसले जहाँ जहाँ बोलाउँछ त्यहाँ त्यहाँ बयान दिने काम गर्दैन, कुनै भ्रममा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैन।’



