दीपावलीको अवसरमा वीरगञ्ज कपडा बैंकद्वारा ९ सय थान कपडा नि:शुल्क वितरण

रामनिवास कुमार पटेल
वीरगञ्ज । हिन्दु धर्मावलम्बीहरूको महान पर्व दीपावलीको अवसरमा वीरगञ्ज कपडा बैंकले विशेष मानवसेवा मूलक कार्यक्रम अन्तर्गत करिब ९ सय थान नयाँ तथा पुराना कपडा नि:शुल्क वितरण गरेको छ । वीरगञ्जको घण्टाघर परिसरमा आयोजित उक्त वितरण कार्यक्रममा सर्वसाधारणलाई लक्षित गर्दै गरिब, असहाय र विपन्न वर्गलाई सहयोग गर्ने उद्देश्यले कपडा वितरण गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रम वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो । समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथि र अधिवक्ता पन्नालाल गुप्ता विशिष्ट अतिथिको रूपमा उपस्थित थिए । वक्ताहरूले मानवसेवा नै सबैभन्दा ठूलो सेवा भएको उल्लेख गर्दै यस्ता कार्यमा सम्पूर्ण समाजले साथ दिनुपर्ने आवश्यकता औंल्याए ।
साथै, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना पनि व्यक्त गरे । वीरगञ्ज कपडा बैंकले नियमित रूपमा आफ्नो कार्यालयमार्फत नि:शुल्क कपडा वितरण गर्दै आएको छ भने विशेष अवसरमा विभिन्न स्थानमा वितरण कार्यक्रम आयोजना गर्दै आएको छ । स्थानीयस्तरमा सामाजिक सेवा कार्यलाई निरन्तरता दिँदै आएको कपडा बैंकको यो प्रयासले समुदायमा सकारात्मक सन्देश दिएको छ ।



