पर्साको बेलवामा अवैध सालको काठसहित दुई जना नियन्त्रणमा

रामनिवास कुमार पटेल
पर्सा । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–३१, बेलवा स्थित एक चिरान मिलमा तयारी अवस्थामा राखिएको साल प्रजातीको १८.९६ क्युबिक फिट काठसहित दुई जना व्यक्तिलाई संयुक्त सुरक्षाटोलीले नियन्त्रणमा लिएको छ।
सोमबार बिहान ८:०० बजे सशस्त्र वन सुरक्षा बेस बेलवाबाट सप्रनानि लोकबहादुर कार्कीको टोली र सव डिभिजन वन कार्यालय सबैयाबाट रेञ्जर भूपाल रोकायको नेतृत्वमा गएको संयुक्त टोलीले उक्त काठ र दुई जनालाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमा वीरगंज महानगरपालिका–२८ बस्ने करिब ३२ वर्षीय जयलाल ठाकुर र महानगरपालिका–३१ बस्ने करिब २५ वर्षीय क्युमुहिन मियाँ रहेका छन्। तत्काल आवश्यक कारबाहीको लागि बरामद गरिएको सालको गोलिया (५ थान) सव डिभिजन वन कार्यालय सबैयामा राखिएको छ भने पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला वन कार्यालय पर्सामा बुझाइएको पर्सा जिल्ला वन कार्यालयले जनाएको छ।



