वीरगञ्ज युवा समाजद्वारा आयोजित कार्यक्रममा १०३ जनाद्वारा रक्तदान

12

वीरगञ्ज । वीरगञ्ज युवा समाजले “परिवर्तनको लागि वीरगञ्ज युवा समाज” नारालाई आत्मसात् गर्दै रक्तसञ्चार केन्द्र वीरगञ्जमा देखिएको रगतको अभावलाई पूर्ति गर्ने उद्देश्यका साथ आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । शनिवार यहाँस्थित होटेल मकालुमा सम्पन्न कार्यक्रममा १३ जना महिला सहित १०३ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरूमा काजल कोइराला, मिरा सिंह, रोजी प्रधान, स्वस्तिका श्रेष्ठ, मञ्जु भण्डारी, प्रीति गुरुङ, मञ्जु गुरुङ, सुन्दिपा श्रेष्ठ, दीपिका चापागाईँ, श्रीजल चौधरी, रञ्जना कार्की, सिद्धिका कार्की, सलिमा रोक्का, सञ्जीव थापा, राजेन्द्र भट्टराई, सन्दीप साह, रामकुमार बस्नेत, विवेक बेरिवाल, विनोद धिमाल, सत्यम खड्गी, आकाश पटेल, आकिब अलि, सोम परियार, नाजिर हुसेन, संयम प्रधानलगायत रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोय नारायण सुवेदीले वीरगञ्जमा रगतको कमी भएको समयमा यस्तो कार्यक्रम आयोजना गरेकोमा वीरगञ्ज युवा समाजको प्रशंसा गर्दै भने, “रक्तदानले दिनेलाई कुनै घाटा हुँदैन, तर लिनेलाई जीवन बचाउने अमूल्य योगदान हुन्छ । प्रत्येक तीन महिनामा रक्तदान गरी मानवता बलियो बनाउन सबैलाई आग्रह गर्छु ।”

त्यस्तै कार्यक्रममा सहभागी विशिष्ट अतिथि पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले रक्तसञ्चार केन्द्रमा रगतको अभावले नारायणी अस्पताल लगायत विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूलाई समस्या परिरहेको अवस्थामा वीरगञ्ज युवा समाजले आयोजना गरेको कार्यक्रमको महत्त्व उल्लेख गर्दै भने, “यस्तो विषम परिस्थितिमा रक्तदान गर्न र गराउन सबैले हातेमालो गर्नुपर्छ । वीरगञ्ज युवा समाजले गरेका यस्ता कार्यलाई अझ व्यापक बनाउन जोड दिन्छु ।”

सोहीगरी समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति सञ्जीव थापाले रक्तसञ्चार केन्द्रमा रगतमा देखिएको रगतको अभावलाई सम्भव भएसम्म पूर्ति गर्ने उद्देश्यका साथ आफूहरूले छोटो समयमा कार्यक्रम आयोजना गरेको बताए । “हाम्रो निमन्त्रणालाई स्वीकार गरी रक्तदान गरेर मानवता बलियो बनाउने रक्तदाताहरू, प्रमुख अतिथि, विशिष्ट अतिथि र सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु” उनले भने ।

Leave a comment