मधेस प्रदेशसमाचारसमाज

कैदी मृत्यु प्रकरणमा ७ सदस्यीय छानबिन समिति गठन

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । नारायणी अस्पतालमा वीरगन्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि घटनाबारे छानबिन गर्न पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ। मंगलबार बिहान करिब १०ः३० बजे वीरगन्ज–२८ निवासी २८ वर्षीय कैदी राहुल साह तुराहाको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। कर्तव्य ज्यान मुद्दामा पाँच वर्षदेखि कैद भुक्तान गरिरहेका साहलाई बिहान कारागारभित्र शारीरिक व्यायाम गर्ने क्रममा हर्ट अट्याक आएपछि तुरुन्त अस्पताल लगिएको थियो।

सुरुमा आइसियु वार्डमा शैया खाली नभएपछि अन्यत्र लैजान सुझाव दिइए पनि पछि अस्पतालकै आइसियुमा उपचार सुरु भएको तर त्यस क्रममा उनको मृत्यु भएको हो। मृतकका आफन्तले उपचारमा लापरवाही भएको र अन्यत्रको अस्पतालमा लैजान नदिएको आरोप लगाउँदै अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका थिए। विवादपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको रोहबरमा जिल्ला प्रशासन कार्यालयमा मृतक पक्ष, जनप्रतिनिधि, प्रहरी, मानवअधिकारकर्मी, चिकित्सक संघ र पत्रकार महासंघका प्रतिनिधिहरूको सहभागितामा छलफल भएको थियो।

छलफलले सत्यतथ्य पत्ता लगाउन सात सदस्यीय समिति गठन गरेको हो। समितिमा प्रहरी नायब उपरीक्षक किशोर लम्साल, वीरगन्ज–२५ का वडाध्यक्ष आशुतोष चर्तुवेदी, मृतक पक्षका प्रतिनिधि, एक मानवअधिकारकर्मी, नेपाल चिकित्सक संघ र नेपाल पत्रकार महासंघ पर्साका प्रतिनिधि रहेका छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। सहमति पश्चात मृतकको शव नारायणी अस्पतालमै पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता लम्सालले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button