बीरगञ्ज । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको ४४ औं जन्मदिन वीरगन्जमा पनि मनाइएको छ । विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीको जन्मदिनको अवसरमा आज पर्सामा विशेष सामाजिक कार्यक्रम सम्पन्न भएको छ। महेन्द्र सिंह धोनी फ्यान क्लब पर्साको आयोजनामा धोनीप्रतिको उत्साह र सम्मान प्रकट गर्दै रक्तदान तथा बालबालिकाहरुसँगको केक काट्ने र भोजन कार्यक्रम आयोजना गरिएको हो।

आज बिहान रक्तसञ्चार केन्द्रमा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा २० जनाले स्वेच्छिक रक्तदान गरेका थिए। यस अवसरमा आयोजकले मानिसको जीवन बचाउन सक्ने रगत दान गर्नु साँचो मानवताको प्रतीक भएको भन्दै सबैलाई रक्तदानका लागि प्रेरित गरे।

त्यसपछि, श्री सिद्धार्थ माध्यमिक विद्यालय प्राङ्गणमा सञ्चालित विशेष आवश्यकता भएका बालबालिकाहरुको संरक्षण केन्द्र ‘आशा किरण’ मा बालबालिकासँग केक काटेर खुशी साटासाट गरिएको थियो। त्यहाँ रहेका सुस्त मनस्थितिका साथै मस्तिष्क पक्षघात भएका बालबालिकाहरुलाई खाना खुवाउने कार्यक्रम पनि सञ्चालन गरिएको थियो।”कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता, युवाहरू र स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

