दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कर्णाली प्रदेशको राजधानी सुर्खेतसहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२५ औं बैठकको सिफारिसका आधारमा मन्त्रालयले प्रतियोगिताको मिति र आयोजनास्थलको टुङ्गो लगाएको हो ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै २०८३ साल मंसिर १६ देखि २७ गतेसम्म दशौं संस्करण कर्णालीका विभिन्न जिल्लामा सञ्चालन हुने जानकारी गराएका हुन् । यसअघि राष्ट्रिय खेलकुदको नवौं संस्करण २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको थियो । त्यसयता आयोजना हुन नसकेको राष्ट्रिय प्रतियोगितालाई थप व्यवस्थित र सफल बनाउन मन्त्रालयले प्रदेश सरकार, स्थानीय तह तथा सम्बद्ध सरोकारवालाहरूलाई आवश्यक तयारी र व्यवस्थापनका काम तीव्रताका साथ अघि बढाउन अपिल गरेको छ ।
सबै पक्षको सकारात्मक सहयोगबाट प्रतियोगितामा खेलाडीको उत्साहजनक सहभागिता, उदाहरणीय व्यवस्थापन र मर्यादित खेल प्रदर्शन भई राष्ट्रको गौरव उच्च हुने मन्त्रालयले विश्वास व्यक्त गरेको छ ।



