समाचार

भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर किन्न पाइने

काठमाण्डौं । नेपाल आयल निगमले बुधबारदेखि देशभर पुनः १४.२ केजीको पूरा एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने निर्णय गरेको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ग्यासको आयात र आपूर्ति सहज बनेपछि निगमले पुरानै प्रणाली लागू गर्न लागेको हो । मंगलबार जारी विज्ञप्तिअनुसार अब उपभोक्ताले १४.२ केजीको पूरा ग्यास सिलिन्डर २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

यसअघि ग्यास आपूर्तिमा देखिएको असहज अवस्थाका कारण निगमले २०८२ फागुन २९ गतेदेखि बजारमा ७.१ केजीको आधा सिलिन्डर मात्र भरेर बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको थियो ।

निगमका अनुसार आईओसीका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङ प्रक्रिया सामान्य बन्दै गएको र बजारमा पूरा सिलिन्डरको माग उच्च रहेकाले पुनः १४.२ केजीको पूरा सिलिन्डर वितरण गर्ने निर्णय गरिएको हो।

यद्यपि, बजारमा रहेका ७.१ केजीका आधा सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नभएसम्म केही समय दुवै प्रकारका सिलिन्डर बिक्री–वितरणमा रहने निगमले जनाएको छ ।

Related Articles

Check Also
Close
Back to top button