वर्ष दिनमा थपियो ८८ अर्ब ९ करोड बेरुजु

आर्थिक वर्ष २०८१/०८२ मा ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु थपिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको महालेखाको ६३औँ वार्षिक प्रतिवेदनले संघीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४८ करोड ७७ लाख, प्रदेशतर्फ ५ अर्ब २२ करोड ८७ लाख, स्थानीय तहतर्फ १९ अर्ब ४ करोड ७७ लाख र समिति एवं अन्य संस्थातर्फ १० अर्ब ३२ करोड ७० लाख बेरूजु रहेको देखाएको हो ।
त्यस्तै, नेपालको अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा २.९९ प्रतिशतले बढी हो । अद्यावधिक बेरुजुमा संघीय कार्यालयको हिस्सा ३ खर्ब ७८ अर्ब ५४ करोड र स्थानीय तहको २ खर्ब २० अर्ब ४७ करोड रहेको छ ।
लेखापरीक्षणको प्रभाव स्वरूप यस वर्ष कुल १४ अर्ब ६३ करोड २७ लाख रुपैयाँ असुल भई राजस्व खातामा जम्मा भएको प्रतिवेदनमा उल्लेख छ । यस वर्ष ६३ अर्ब १२ करोड ९५ लाख बराबरको बेरुजु सम्परीक्षण गरिएको हो ।



