जीवित व्यक्तिको मृत्यु दर्ता गर्ने वडाध्यक्षसहित चारजना पक्राउ

रूपन्देही । जिउँदो व्यक्तिलाई मृत भन्दै मृत्यु दर्ता गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पश्चिम नवलपरासीस्थित सुस्ता गाउँपालिका-५ का वडाध्यक्ष, सचिवसहित चारजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरीसहित चार जना छन् ।
यसअघि नै झुटा विवरण पेश गरी मृत्यु दर्ता गराउने मुख्य आरोपी नारायणी पारी सुस्ता गाउँका ३१ वर्षीय तारिख मियाँ अन्सारी, मृत्यु दर्ताको मुचुल्कामा साक्षी बसेका ५५ वर्षीय छोटे खाँ पक्राउ परिसकेका थिए । साक्षीका रूपमा हस्ताक्षर गर्ने अन्य सात जना भने अझै फरार छन् ।
अनुसन्धानका क्रममा अन्सारीले सोही वडाका एक ६६ वर्षीय छिमेकीलाई आफ्नो बुवा भन्दै मृत्युदर्ताका लागि निवेदन दिएको खुलेको छ । तर, ती छिमेकी ज्यूँदै छन् ।
अन्सारीको बुवाको भने २०६० सालमै मृत्यु भइसकेको प्रहरीले पुष्टि गरेको छ । मृत्यु दर्ता गराउन वडाध्यक्ष र सचिवको समेत मिलेमतो देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।



