वीरगञ्जको बाईपासमा भारतीय कार दुर्घटना हुदा एकजनाको मृत्यु , तीनजना घाईते

73

वीरगञ्ज,२५ जेठ ।
वीरगञ्जमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं. १४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै बाईपास सडकमा आईतबार दिउँसो करिब ३ः१० बजे भएको एक कार दुर्घटनामा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृत्यु हुनेमा भारतको नरकटियागञ्जका ३० बर्षीय बिटु सर्राफ रहेका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवा भट्टका अनुसार गण्डकबाट बसपार्क तर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडक खण्डको बीचमा रहेको डिभाइडरमा ठोकिन पुगेको थियो। दुर्घटनामा घाइते भएका चारै जनालाई तत्काल उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल पठाइएको थियो। अस्पताल पुर्‍याइएका मध्ये बिटुलाई चिकित्सकले दिउँसो ३ः५० बजे मृत घोषणा गरेका थिए । उनको टाउको, मुख र कानमा गम्भीर चोट लागेको थियो। दुर्घटनामा घाइते हुने अन्यमा कार चालक भारतका नरकटियागञ्ज निवासी करिब ४० वर्षीय गणेश सर्राफ रहेका छन्।

उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। त्यसैगरी, सोही स्थानका २० वर्षीय रतन सर्राफको बायाँ हात र शरीरका विभिन्न भागमा मध्यम चोट लागेको छ। अर्का घाइते २१ वर्षीय बिटु सर्राफ (रामबाबु सर्राफका छोरा) को दायाँ खुट्टा, छाती र टाउकोमा गम्भीर चोट रहेको छ। घटनास्थलबाट दुर्घटनाग्रस्त कार नियन्त्रणमा लिने पहल भइरहेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a comment