समाचार

भारी हिमपातका कारण लुकुम–पातिहाल्ना सडक अवरुद्ध, यात्रुहरू अलपत्र

Ad 1
Ad 2
Ad 3
Ad 4

रुकुम पूर्व । रुकुम पूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

गए रातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका–१ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो ।

लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

अहिले सो खण्डमा काठमाडौँबाट छुटेका रात्रिबसहरू फसेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक केशवराज ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार, लुकुम–पातिहाल्ना क्षेत्रमा सातवटा बस, एउटा जिप र पाँचवटा मोटरसाइकल फसेका छन् भने २५० जनाभन्दा बढी यात्रुहरू अलपत्र परेका छन् ।

अहिले पनि निरन्तर वर्षा र हिमपात भइरहेका कारण सडक सञ्चालनमा चुनौती देखिएको छ । यस क्षेत्रमा अहिले फोन सेवा पनि अवरुद्ध भएको छ ।

यात्रुहरूको उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको उपरीक्षक ज्ञवालीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button