
वीरगन्ज ,१७ फागुन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा यादवले शनिबार बिहान वीरगञ्ज महानगरपालिका–३ अन्तर्गत छपकैयामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो। उम्मेदवार यादवलाई मतदाताले फूलमाला तथा गम्छा ओढाएर स्वागत गरेका थिए। घरदैलो कार्यक्रममा थुप्रै मतदाता, कार्याकर्ता र नेताहरूको उपस्थिती रहेको थियो।
उनले सुख–दुःखमा सधैं साथ दिने उल्लेख गर्दै मधेश आन्दोलनको बलबाट स्थापित संघीयता जोगाउन पनि मतदान गर्न अपिल गरिन्। वर्तमान समयमा मुलुक जोगाउने र अस्थिरता निम्त्याउने शक्तिबीच ध्रुवीकरण भइरहेको उल्लेख गर्दै उनले देशको स्थायित्व र विकासका लागि एमालेको सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे ।
एमालेले अघि सारेको राष्ट्रियता सुदृढीकरण, आर्थिक समृद्धि तथा समाजवाद उन्मुख विकासको मार्गलाई आत्मसात् गर्दै अघि बढेको उनले बताए। चुनावी समयमा मात्र सक्रिय हुने नेतृत्वबाट सतर्क रहन उनले मतदातालाई आग्रह गरे।
गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, कृषि तथा पर्यटन प्रवर्द्धन, स्थानीय उद्योग विस्तार, महिला सशक्तीकरण तथा युवालाई अवसर सृजना आफ्ना प्राथमिकता रहने उनले प्रतिबद्धता व्यक्त गरिन ।
सडक, विद्यालय, अस्पताल, धार्मिक संरचना, मसानघाट, खानेपानी, सिँचाइ तथा विद्युत् विस्तारका क्षेत्रमा काम गरेको दाबी गर्दै संसद्मा पर्साका मुद्दाहरू निरन्तर उठाउँदै आएको उनले स्मरण गराए।
घरदैलो कार्यक्रमका क्रममा स्थानीयले उठाएका विभिन्न समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए। वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रिय अखण्डता, संविधान तथा संघीय संरचना सुदृढ गर्न एमाले नेतृत्वको भूमिका महत्वपूर्ण रहने उनको धारणा थियो।
कार्यक्रममा एमालेका नेता विजय सरावगी, महेश दास, विचारी यदव, निरञ्जन मिश्र, लियाकत अली सहित विभिन्न तहका नेता–कार्यकर्ता, युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



