रेशमको रिटमा अन्तरिम आदेशबारे सर्वोच्चमा सुनुवाइ सुरु

17

काठमाडौं । निर्वाचन आयोगद्वारा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उमेदवारी खारेज गर्ने गरी भएको निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । चौधरीले दायर गरेको रिटमा न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइ थालिएको हो ।

रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस सुरु गरेका छन् । सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यसअघि उक्त विवादमा आयोगसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशबारे छलफलका निम्ति दुवै पक्षलाई डाकेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति कैलाली क्षेत्र नम्बर–१ बाट मनोनयनपत्र दर्ता गराएका चौधरीको उमेदवारी खारेज गरिदिएपछि उनी सर्वोच्च पुगेका हुन् । आयोगले टीकापुर हिंसा प्रकरणको कसुर र कैदको अभिलेख कायमै हुने भन्ने आधारमा चौधरीको उमेदवारी खारेज गरिदिएको थियो ।

अन्तरिम आदेशमा रिट निवेदक र आयोगसँग छलफल भएपछि मनोनयन खुला गर्ने वा रोक्ने विषयमा सर्वोच्चबाट टुंगो लाग्नेछ ।

Leave a comment