प्रेस चौतारी स्थापना दिवसमा निर्वाचन आचारसंहिता कार्यशाला र रक्तदान

17

कपिलवस्तु । प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवसको अवसरमा कपिलवस्तुमा निर्वाचन आचारसंहिता सम्बन्धी कार्यशाला तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य प्रवद्र्धन र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बाणगंगा शाखा, सिद्धिपुरमा सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा ३१ प्वाइन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सञ्चार क्षेत्र समाज परिवर्तनको आधारस्तम्भ भएको उल्लेख गर्दै निर्वाचन अवधिमा पत्रकारहरूले निष्पक्ष, तथ्यपरक र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले लोकतन्त्र सुदृढ गर्न स्वतन्त्र, मर्यादित र उत्तरदायी प्रेसको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै प्रेस चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको उदाहरणीय कार्यका रूपमा प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सचिव चन्द्र बाहादुर गहतराजले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गरे । उनले निर्वाचनजस्तो संवेदनशील समयमा प्रेस चौतारीले आचारसंहिता सम्बन्धी सचेतना र सामाजिक सेवालाई सँगसँगै अघि बढाउनु सराहनीय रहेको बताए । यस किसिमका कार्यक्रमले पत्रकारिताप्रति आमजनताको विश्वास थप मजबुत बनाउने उनको भनाइ थियो ।

त्यसैगरी प्रेस चौतारी नेपाल कपिलवस्तु जिल्ला इन्चार्ज राम प्रकट कोरीले प्रेस चौतारी केवल पत्रकारहरूको संगठन मात्र नभई सामाजिक रूपान्तरणको अभियान भएको बताए । उनले श्रमिक पत्रकारहरूको हकहितसँगै समाजप्रतिको उत्तरदायित्व वहन गर्नु प्रेस चौतारीको मूल पहिचान भएको उल्लेख गर्दै निर्वाचन अवधिमा सत्य, सन्तुलित र जिम्मेवार सूचना प्रवाह गर्नु नै संगठनको प्रमुख दायित्व भएको स्पष्ट पारे ।

कार्यक्रमका अध्यक्ष तथा प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझीले प्रेस चौतारी श्रमिक पत्रकारहरूको साझा संगठन भएको उल्लेख गरे ।

स्थापना दिवसका अवसरमा हरेक वर्ष सामाजिक, जनचेतनामूलक तथा पेशागत मर्यादासँग जोडिएका कार्यक्रमहरू निरन्तर गर्दै आएको जानकारी दिँदै उनले निर्वाचनमा पत्रकारहरूले आचारसंहिता पालना गर्दै तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् ।

Leave a comment