राजनीतिसमाचार

सुदूरपश्चिममा सञ्चालित महत्वपूर्ण आयोजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी : एमाले उपमहासिचव भट्ट

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव लेखराज भट्टले सुदूरपश्चिममा सञ्चालित महत्वपूर्ण आयोजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका भट्टले आइतबार अत्तरियामा क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालयको उद्घाटनपछि पत्रकारसँग कुराकानी गर्दै सुदूरपश्चिमको लाइफलाइनसँग जोडिएको दैजी–छेला औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, महाकाली करिडोर, सेती लोकमार्ग, धनगढी–खुटिया–दिपायल–उरै भञ्याङ सडक, लालपुर–हरैया विशेष आर्थिक निर्माण जस्ता आयोजनाको काम अघि बढाउन आवश्यक रहेको बताए ।

उनले कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचित भएर मन्त्री हुँदा सुदूरपश्चिममा आफूले पहल गरेका आयोजनाको काम सुस्त गतिमा भइरहेकोले ती आयोजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी आवश्यक रहेको बताए ।

उनले सुदूरपश्चिमको आर्थिक सामाजिक रुपान्तरणका लागि उत्तर–दक्षिणलाई जोड्नु पर्ने बताए । उनले सडक सञ्जाल विस्तार गरेर उत्तरमा उत्पादित बस्तु दक्षिण र दक्षिणमा उत्पादित बस्तु उत्तर पुर्याउन सके मात्रै सुदूरपश्चिमको आर्थिक सामाजिक रुपान्तरणका सम्भव रहेको प्रतिक्रिया दिए ।

कैलालीका लागि मात्र नभएर समग्र सुदूरपश्चिम र राष्ट्रकै निमित्त भएको बताए । उनले आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा एमालेको सम्पूर्ण पार्टी संरचना एकमतका साथ निर्वाचनको मैदानमा उत्रिने बताए ।

उनले एमालेको तल्लो तहसम्म पार्टीको बलियो संगठन भएको र पार्टीमा कुनै मतभेद नभएकाले निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दाबी गरे ।

सुदूरपश्चिम प्रदेशमा १२ सिट जित्ने दाबी गर्दै उनले सुदूरपश्चिममा एमालेले रणनीतिक रुपमा चुनाव प्रचार प्रसारलाई अघि बढाउँदै लगेको बताए ।

अत्तरियामा क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिशङ्कर योगी, केन्द्रीय सदस्य सन्तोष शर्मा, नवनिर्वाचित राष्ट्रिय सभा सदस्य लीला भण्डारी, सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक, एमाले प्रदेश कमिटी उपसचिव तथा प्रभार विभाग प्रमुख भागरथी विष्ट लगायत हजारौं नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गरिएसँगै एमालेले सङ्गठन विस्तार, मतदाता समन्वय र प्रचार–प्रसारलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने जनाइको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button