पर्सामा लागुऔषध गाँजासहित एक जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा जस्तो देखिने ५५ किलो पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका वडा नं.४ का ३४ वर्षीय सुरेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
ठोरी गाउँपालिका वडा नं.४ बिशाल चोक स्थित श्रेष्ठको एक तल्ले घरमा लागु औषध बिक्री वितरण तथा भण्डारण गरेको छ,भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घर खानतलासी गरेको हो।
खानतलाशीको क्रममा सो घरभित्र लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ५ पोकामा ५५ केजी फेला परेको थियो। बरामद लागुऔषध गाँजासहित श्रेष्ठलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट १० दिन म्याद थप गराई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



