समाज

बंगलादेशमा हिन्दुमाथि भएको हिंसाको विरोधमा वीरगन्जमा प्रदर्शन

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,पुस ५ । बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि भइरहेको दमन, हत्या तथा हिंसाको विरोधमा शनिबार वीरगन्जमा विभिन्न हिन्दुवादी संघ–संस्थाहरूले विरोध प्रदर्शन गरेका छन्।

वीरगन्जको ऐतिहासिक माइस्थान मन्दिर परिसरबाट सुरु भएको विरोध जुलुस नगरका विभिन्न भाग परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा सहभागी वक्ताहरूले बंगलादेश सरकारको कडा आलोचना गर्दै अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न माग गरे।

प्रदर्शनका क्रममा सहभागीहरूले बंगलादेशमा हिन्दु समुदायमाथि भइरहेको हिंसाविरुद्ध आक्रोशपूर्ण नारा लगाएका थिए। सोही क्रममा केही प्रदर्शनकारीहरूले प्रतीकात्मक विरोधस्वरूप बंगलादेशको राष्ट्रिय झण्डा जलाएका थिए।

संभावित झडप वा अप्रिय घटनालाई मध्यनजर गर्दै पर्सा प्रहरीले वीरगन्जका मुख्य चोक तथा संवेदनशील स्थानहरूमा व्यापक सुरक्षाकर्मी परिचालन गर्दै उच्च सतर्कता अपनाएको थियो।

कोणसभालाई सम्बोधन गर्ने वक्ताहरूले कुनै पनि देशमा अल्पसंख्यक भएकै आधारमा गरिने हिंसा अमानवीय र निन्दनीय भएको बताए। उनीहरूले यस्ता घटनाले सामाजिक सद्भाव र मानवअधिकारको मूल्यलाई गम्भीर रूपमा क्षति पुर्‍याउने चेतावनी दिए।

प्रदर्शनकारीहरूले बंगलादेश सरकारसँग त्यहाँ रहेका अल्पसंख्यक हिन्दुहरूको जिउधनको सुरक्षा गर्न, दोषीमाथि कारबाही गर्न तथा हिंसात्मक गतिविधि तत्काल रोक्न माग गरेका छन्। साथै, अन्तर्राष्ट्रिय समुदायलाई पनि बंगलादेशमा भइरहेको मानवअधिकार उल्लंघनप्रति गम्भीर ध्यान दिन आग्रह गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button