मधेस प्रदेशराजनीतिसमाचारस्थानीय

पर्सागढी–६ का वडाध्यक्ष कलवार कार्यालयमा नबस्दा सेवाग्राही हैरान

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नवल किशोर प्रसाद कलवार नियमित रूपमा वडा कार्यालयमा नबस्दा सेवाग्राही हैरान भएका छन् । नागरिकहरूले दैनिक रूपमा पर्ने आवश्यकीय सेवाहरूका लागि कार्यालय जाँदा वडाध्यक्ष अनुपस्थित हुने गरेको गुनासो गरेका छन् । स्थानीय बासिन्दाहरूका अनुसार कलवार वडा अध्यक्षमा निर्वाचित भएदेखि अहिलेसम्म नियमित रूपमा कार्यालयमा नबसेको र जनप्रतिनिधिको अभावले सेवाप्रवाहमा गम्भीर समस्या आएको छ । नागरिकता सिफारिस, जन्म–मृत्यु दर्ता, घर जग्गासम्बन्धी प्रमाणपत्रजस्ता काममा सेवाग्राहीले घण्टौं कुर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।

सेवाग्राहीका अनुसार वडाध्यक्ष कलवारसंग कुनै काम गराउनु परे उनकाे घरमा जानु पर्छ । नत्र फाेन गरेर उनी भएकाे ठाउँमा जानु पर्छ । कहिले काँही फाेन समेत नलागेपछि समस्या हुने गरेकाे छ । त्यसैगरी, स्थानीयबासीले विकास निर्माणका कामहरू पनि सुस्त भएको आरोप लगाएका छन् । “वडामा सडक, नाला, खानेपानी र सरसफाइसम्बन्धी समस्याहरू थुप्रै छन्, तर वडाध्यक्षले कुनै चासो नदिएको देखिन्छ,” एक स्थानीय युवाले बताए । एक महिला सेवाग्राही भन्छिन्, “हामी वडा कार्यालय गएका थुप्रैपटक वडाध्यक्षको कुर्सी रित्तो पाएका छौं । जनप्रतिनिधि भनेपछि त जनताको सेवा गर्ने हो, तर यहाँ जनताको कामभन्दा उनीहरूलाई आफ्नै स्वार्थ महत्त्वपूर्ण लागिरहेको देखिन्छ ।”

स्थानिय प्रमाेद यादवले आफु नागरिकता सिफारिसकाे लागि वडा कार्यालयमा पुग्दा वडाध्यक्षसंग भेट नभएकाे गुनासाे गरे । उनले भने “वडाध्यक्ष ज्युलाई कार्यालय समयमा वडा कार्यालय बस्नु पर्थियाे तर उहाँ बस्नु हुनन् त्यहीँ भएर समस्या भएकाे हाे ।”स्थानिय महिला पतिया देवीले आफ्नाे जेष्ठ नागरिक भत्ताकाे लागि सिफारिस गराउन वडाध्यक्ष कहाँ ६ महिनादेखि धाउँदा पनि नगरिदिएकाे गुनासाे गरिन । उनले भनिन “वडाध्यक्षले सिफारिस नगरिदिएकाे गुनासाे जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा गर्दा पनि हुन सकेन ।”

वडाबासीहरू वडाध्यक्षप्रति गम्भीर असन्तुष्टि जनाउँदै, मिडिया मार्फत नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । उनीहरूले वडा स्तरमा सेवा प्रवाहमा पारदर्शिता, नियमित उपस्थिति, र जिम्मेवार व्यवहार सुनिश्चित गर्न माग गरेका छन् । यता वडाध्यक्ष नवल किशोर प्रसाद कलवारले विपक्षीहरुले मिडियाबाजी गरेकाे वताए । उनले भने “जसलाई समस्या भएकाे छ उसले सिधै आफुसंग सम्पर्क गर्न भन्नुस । आफुसंग भेटनु परे वडा कार्यालयमा आउदा फाेन गरेर आउनु ।” उनले कले के भन्याे मलाई केही थाहा छैन भन्दै गैर जिम्मेवापूर्ण जवाफ दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button