काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श भएको बताएका छन् । महोत्तरीको बर्दिवासस्थित मध्य पृतना हेडक्वार्टरमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले सेनाको संस्थागत हित र राष्ट्रको सार्वभौमिकता रक्षार्थ अवकाश प्राप्त सैनिकहरूले पु¥याएको योगदान अविष्मरणीय रहेको उल्लेख गरे ।
नेपाली सेनाका अवकाश प्राप्त सकल दर्जालाई समाजमा एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकको रूपमा प्रस्तुत हुँदै स्थानीयस्तरमा उत्पादनशील र उद्यमी बन्न आग्रह गरे । नेपाली सेनाको कल्याणकारी कोषका सुविधाहरूलाई विकेन्द्रीकृत, पारदर्शी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, स्वरोजगार र सीप विकासका क्षेत्रमा हिताधिकारीहरूको पहुँच विस्तार भइरहेको जानकारी दिए ।
प्रधानसेनापति सिग्देलले देशको आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले खेलेको भूमिकाले संस्थालाई विश्वमै विश्वसनीय र सम्मानित बनाएको बताए ।
हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गराउन सेनाले देखाएको कार्यकुशलताको समेत उनले प्रशंसा गरे । स्थानीयस्तरमै सृजनशील र उद्यमी बन्न आग्रह गर्दै उनले कल्याणकारी कार्यमा दिगो नतिजा प्राप्त गर्न अवकाश प्राप्त सैनिकहरूको सुझाव र सहकार्य अपरिहार्य रहेको बताए ।
