समाचारसमाज

वीरगंज -१८ भवानीपुरमा बर्थिङ सेन्टर आयाे सञ्चालनमा ,माहानगर प्रमुख राजेशमान सिंहले गरे उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १८ स्थित भवानीपुरमा आजदेखि बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । सुरक्षित मातृत्व सेवा प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त बर्थिङ सेन्टरको महानगर प्रमुख राजेशमान सिंहले एक कार्यक्रमकाबीच उद्घाटन गर्दै सेवा शुभारम्भ गर्नुभएको हो ।

उद्घाटन समारोहमा बोल्नुहुँदै महानगर प्रमुख सिंहले बजार क्षेत्रमा मात्र नभई ग्रामीण भेगका बासिन्दालाई समेत सहज र सुरक्षित प्रसूती सेवा उपलब्ध गराउने लक्ष्यका साथ बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य संस्थामै प्रसूती गराउन प्रोत्साहन गर्नु मातृ तथा शिशु मृत्युदर घटाउने प्रभावकारी उपाय भएको उल्लेख गर्नुभयो

‘ग्रामीण क्षेत्रका गर्भवती महिलाले सामान्य प्रसूती सेवाका लागि पनि शहर धाउनुपर्ने बाध्यता हटाउन गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको हो,’ प्रमुख सिंहले भन्नुभयो, ‘यसले स्थानीय महिलालाई समयमै र सुरक्षित सेवा प्राप्त गर्न ठूलो सहयोग पुग्नेछ ।’

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनसहित बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले यस केन्द्रबाट स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी वडा नं. १८ का वडा अध्यक्ष उमाशंकर तिवारीले बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै वडामै सामान्य प्रसूती सेवा उपलब्ध हुने र यसले स्थानीय नागरिकलाई ठूलो सहजता ल्याएको बताउनुभयो ।

‘यसअघि गाउँघरमा सुत्केरी ब्यथा लागेपछि रातबिरात वीरगंज लैजानुपर्ने बाध्यता थियो,’ उहाँले भन्नुभयो, ‘राति एम्बुलेन्स खोजेर गर्भवती महिलालाई अस्पताल पु¥याउनु निकै कठिन हुन्थ्यो । अब वडामै बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यस समस्याबाट ठूलो हदसम्म छुटकारा मिल्नेछ ।’

आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन पूरा भएपछि आजबाट बर्थिङ सेन्टर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । सेन्टरमा प्रि–डेलिभरी कक्ष, पोस्ट–डेलिभरी कक्ष, जाँच कक्ष, ड्रेसिङ रुम, प्रयोगशाला (ल्याब), स्टोर, प्रशासनिक कक्ष तथा शौचालयको छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।

यसअघि नै वीरगंज महानगरपालिकाले वडा नं. २१ लिपनीविर्ता र वडा नं. २८ बगहीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइसकेको छ । वडा नं. २८ मा रहेको बगही स्वास्थ्य केन्द्रमा २ जना विशेषज्ञ चिकित्सकसहित प्रसूती तथा बाह्य रोग (ओपीडी) सेवा २४ सै घण्टा प्रवाह हुने गरी स्तरोन्नति भइसकेको छ ।

वीरगंज बजार क्षेत्रमा भने नारायणी अस्पताल लगायत विभिन्न निजी अस्पताल तथा क्लिनिकहरूले विशेषज्ञ चिकित्सकमार्फत प्रसूती सेवा प्रदान गर्दै आएका छन् । महानगरपालिकाले शहरसँगै ग्रामीण क्षेत्रको स्वास्थ्य सेवालाई सन्तुलित रूपमा विस्तार गर्दै लगेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button