राष्ट्रियसमाचार

मतदान हुनुभन्दा ७२ घण्टा अघि नै पर्सा र बारा लगायतका नाकाहरू सिल गर्ने सहमति

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाल–भारत सीमा सुरक्षालाई कडाइ गर्ने निर्णय भएको छ। वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँचचौकी (आईसीपी) मा शनिबार बसेको सीमा समन्वय समितिको बैठकले मतदान हुनुभन्दा ७२ घण्टा अघि नै सबै आधिकारिक नाकाहरू सिल गर्ने सहमति जुटाएको हो।

 

निर्वाचन अवधिमा शान्ति–सुरक्षा सुनिश्चित गर्दै सम्भावित अवाञ्छित गतिविधि रोक्न आवतजावतमा पूर्ण नियन्त्रण गर्ने निर्णय गरिएको बैठकमा सहभागी अधिकारीहरूले जानकारी दिएका छन्।

 

बैठकमा सीमा क्षेत्रबाट हुन सक्ने अन्तरदेशीय अपराध, अवैध मदिरा कारोबार, नक्कली नोटको ओसारपसार तथा आपराधिक गतिविधि नियन्त्रणमा विशेष ध्यान दिने प्रतिबद्धता जनाइएको छ। सूचना आदानप्रदानलाई तीव्र बनाउने, संयुक्त गस्ती बढाउने र चेकजाँचलाई थप कडाइ गर्ने विषयमा दुवै देशबीच समझदारी बनेको छ।

 

यसपटकको छलफलमा भारतीय पक्षले पहिलोपटक सिर्सिया नदीको प्रदूषणबारे औपचारिक चासो राखेको छ। वीरगञ्ज हुँदै भारतको रक्सौलतर्फ बग्ने नदीको पानी प्रशोधनबिना नपठाउन आग्रह गर्दै ‘वाटर ट्रीटमेन्ट प्लान्ट’ सञ्चालनमा ल्याउनुपर्ने धारणा राखिएको हो। औद्योगिक फोहोरका कारण सीमावर्ती भारतीय क्षेत्रको जनस्वास्थ्यमा असर परेको दाबी गर्दै प्रदूषण नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गरिएको छ। साथै, दशगजा क्षेत्रको सुरक्षा सुदृढीकरण र सीमा अतिक्रमण नियन्त्रणमा सहकार्य बढाउने विषय पनि उठाइएको छ।

 

बैठकमा नेपालको तर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल तथा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी थिए। भारतीय पक्षबाट बिहार राज्यअन्तर्गत पूर्वी चम्पारणका डिस्ट्रिक्ट मजिस्ट्रेट सौरभ जोरवाल र पश्चिम चम्पारणका डीएम दिनेश कुमारसहित सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।

 

दुवै देशका अधिकारीहरूले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सीमा व्यवस्थापनमा निरन्तर समन्वय कायम राख्ने प्रतिबद्धतासहित बैठक टुंग्याएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button