राजनीतिसमाचार

हरिबहादुरलाई मतदाताले भने– भोट दिन्छौँ तर हामीलाई बिर्सन पाउनुहुन्न

भद्रपुर । झापा भद्रपुर–८ का मतदाताले जितेर गाउँ नफर्किनेहरुलाई भोट नदिने प्रतिक्रिया दिएका छन् । शुक्रबार भद्रपुर विमानस्थल पूर्व क्षेत्रका मतदाताले जितेर गाउँ नआउनेहरुलाई अब मत नदिने बताएका हुन् ।

नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हरिबहादुर राजवंशीलाई सो क्षेत्रका बासिन्दाले ‘जितेपछि तपाईं पनि नआउने होला’ भन्दै शंका व्यक्त गरे । राजवंशी गाउँमा हरिबहादुरलाई भने– हामी तपाईंलाई भोट दिन्छौँ, तर हामीलाई बिर्सन पाउनु हुन्न ।

पटक–पटक जिताएको उम्मेदवार गाउँ नफर्किएको भन्दै गुनासो गरेका मतदाताले विकासको बारेमा आफ्नै प्रतिनिधिसँग समेत कुरा राख्ने अवसर नपाएको बताए । यसअघि जिताएका उम्मेदवारलाई देख्न नपाएपछि उनीहरुले असन्तुष्ट व्यक्त गरिरहेका छन् ।

विद्यालयको पूर्वप्रअ समेत भइसकेका राजवंशीले जिते पनि हारे पनि जनताको बीचमा रहने प्रतिवद्धता गरे । उनले मतदातालाई मत दिए वा नदिन पनि साथमा रहने बताए । उनले झापा–३ का जनताको चहाना बमोजिम नै उम्मेदवार बनेको बताए ।सूर्यमा मतदान गर्न इच्छुक मतदाताको आग्रहमा उम्मेदवार बनेको दाबी गर्ने राजवंशीले भने– १२ वर्षमा खोला फर्काउने एमालेको चहानामा मतदाताको पूर्ण साथ छ ।

झापा–३ मा यसअघि एमालेले राप्रपाका उम्मेदवारलाई सहयोग गर्दै आएको थियो । एमालेले राप्रपाको उम्मेदवारबाट क्षेत्रको विकासमा विभेद भोग्नुपरेको बताउँदै आएको छ । क्षेत्रमा रहेका सबै पालिकाहरुलाई विकासमा समेट्ने काम हुन नसकेपछि आफूहरुले उम्मेदावारी दिनु परेको राजवंशीको भनाई छ ।

‘एउटा पालिकामा विकास गरेर क्षेत्रको विकास हुन सक्दैन’ उनले भने, ‘झापा ३ को विकासका लागि सबै पालिकामा समान हिसावले विकासको काम हुनुपर्छ ।’ एमालेले यसअघि भोट दिए पनि विकास नपाएको उनीहरुको तर्क छ ।

यता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विकासका काम बारे पत्रकार सम्मेलन गरेरै प्रगति विवरण सार्वजनिक गरिसकेका छन् । उनले विगत र वर्तमानलाई तुलना गरेर हेर्न आग्रह गरिरहेका छन् ।

झापा ३ मा नेपाली कांग्रेसबाट राजेन्द्र घिमिरे, एमालेबाट हरिबहादुर राजवंशी, राप्रपाबाट राजेन्द्र लिङ्देन, नेपाली कम्युनिष्ट पार्टीबाट डिल्ली घिमिरे, श्रम संस्कृति पार्टीबाट दिपक तिम्सिना लगायत उम्मेदवार बनेका छन् । सो क्षेत्रमा ०४८ को संसदीय निर्वाचनमा एमालेका नेता द्रोणप्रसाद आचार्य विजयी भएका थिए । आचार्यको मुख्य प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद सिटौला थिए । आचार्यले १३ हजार ७ सय २१ मत ल्याउँदा सिटौला ९ हजार ८ सय २७ मत ल्याए ।

०५१ सालको मध्यावधि निर्वाचनमा पनि एमालेका पुष्पराज पोखरेल विजयी भएका थिए । पोखरेलका मुख्य प्रतिद्वन्द्वी पनि कांग्रेस नेता सिटौला नै थिए । पोखरेलले १५ हजार ६ सय ५२ मत ल्याउँदा सिटौला १४ हजार ५ सय ११ मत ल्याएर पराजित भएका थिए ।

०४८ र ०५१ मा एमालेले लगातार दुई पटक संसदीय निर्वाचन जितेको क्षेत्रमा कांग्रेसले विजयी सुरुवात गरेको थियो । एमालेका नारायण राजवंशीलाई पराजित गर्दै कांग्रेस नेता सिटौला पहिलोपटक सांसद बनेका थिए ।

०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका पूर्णसिंह राजवंशी विजयी भए । उनले कांग्रेस नेता सिटौलालाई पराजित गरेका थिए ।

राजवंशीले १६ हजार ६ सय ८५ मत ल्याउँदा सिटौलाले १४ हजार ४९ मत ल्याएका थिए । एमालेका पुष्पराज पोखरेलले ९ हजार ६ सय ५४ मत ल्याएर पराजित भएका थिए ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिटौला दोस्रोपटक निर्वाचित भए । उनले १४ हजार ३ सय ५५ मत ल्याएर सांसद बने । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा अध्यक्ष लिङ्देनले ९ हजार २ सय ५३ मत ल्याएका थिए ।

संघीयतापश्चात् ०७४ सालको पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेसँगको तालमेलामा राप्रपाका त्यस बेलाका महामन्त्री लिङ्देन निर्वाचित भए ।

२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि एमालेसँग भएको गठबन्धनका कारण लिङ्देन लगातार दोस्रोपटक सांसदमा निर्वाचित भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button