समाचार

बाराको प्रसौनी गाउँपालिकाको १८ औँ हिउँदे गाउँसभा अधिवेशन सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

बारा । बाराको प्रसौनी गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन तथा आर्थिक वर्ष २०८२/०८३ को संशोधित हिउँदे गाउँसभा सम्पन्न भएको छ। गाउँपालिका सभाहलमा सोमबार आयोजित उक्त संशोधित हिउँदे गाउँसभा सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष विनोद प्रसाद जयसवालले चालु आर्थिक वर्षमा विभिन्न शीर्षकअन्तर्गत भएको खर्च तथा हालसम्मको प्रगति विवरण गाउसभामा सार्वजनिक गरेका छन् । उनले नेपाल सरकारले स्थानीय तहलाई क्रमशः धारासायी बनाउँदै लगेको आरोप लगाए। बजेट व्यवस्थापनमा देखिएको समस्यातर्फ उनले ध्यानाकर्षण गराए।

प्रत्येक वर्ष असार महिनामै बजेट सिलिङ पठाउने गरेकोले सोही परिधिभित्र रहेर स्थानीय तहले बजेट विनियोजन गर्ने गरेको उनले जनाए। चालु आर्थिक वर्षको अन्तिमतिर आइपुग्दा केन्द्र सरकारबाट बजेट कटौती हुने गरेकाले विकास निर्माण तथा सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न हुने गरेको उनले जानकारी दिए।

संशोधित हिउँदे गाउँसभाबाट चालु आर्थिक वर्षको स्वीकृत बजेटभित्रका केही शीर्षकहरूमा मात्र आवश्यक परिवर्तन गरिने स्पष्ट गर्दै यसले कार्यक्रम तथा योजनाहरूलाई अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको उनले जानकारी दिए।

उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नविनकुमार श्रीवास्तवले आफूहरू कर्मचारी भएको जनाए। उनले जनप्रतिनिधिबाट पारित भएका नीति, नियम तथा निर्णयहरू कार्यान्वयन गर्नु नै आफ्नो प्रमुख दायित्व रहेको जनाए । सेवा प्रवाहका क्रममा कर्मचारीहरूबाट कुनै कमी कमजोरी भएमा समयमै अवगत गराइदिन उनले आग्रह गरेका छन् ।

उक्त गाउँसभामा गाउँपालिका उपाध्यक्ष किरणदेवी साह,सबै वडा अध्यक्ष,सम्पूर्ण कार्यपालिका सदस्यहरू, गाउँपालिकाका लेखा अधिकृत प्रेमबाबु प्रसादसहित सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button