पर्सागढी मेयर कप : अपन तित्रौना बोल्टलाई ३१ रनले पराजित गर्दै आर.सी.बी सेमिफाइनल–२ मा प्रवेश

पर्सा । रामनिवास कुमार पटेल । पर्सागढी नगरपालिका वडा नम्बर ६, टोल तित्रौना स्थित झुलुङ्गे पुल नजिकको खेल मैदानमा पर्सागढी लायन्स क्लबद्वारा आयोजित दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रिकेट प्रिमियर लिग अन्तर्गत पहिलो क्वाटरफाइनल खेल सम्पन्न भएको छ। पहिलो क्वाटरफाइनल खेलमा आर.सी.बी (रोयल च्यालेन्जर्स बागेश्वरी) ले अपन तित्रौना बोल्टलाई ३१ रनले पराजित गर्दै सेमिफाइनल–२ मा प्रवेश गरेको छ।

टस जितेर फिल्डिङ रोजेको अपन तित्रौना बोल्ट विरुद्ध आर.सी.बीले पहिले ब्याटिङ गर्दै १६ ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो।आर.सी.बीका लागि मनु पासवान ले २८ बलमा सर्वाधिक ४१ रनको उत्कृष्ट योगदान दिए। त्यस्तै अञ्जन यादव ले १० बलमा २८ रन तथा निमेष पटेल ले ६ बलमा ८ रन जोडे।

१०४ रनको लक्ष्य पछ्याएको अपन तित्रौना बोल्ट दोस्रो इनिङमा १४ ओभरमै ७३ रनमा समेटियो। यससँगै आर.सी.बीले खेल ३१ रनले जित्न सफल भयो।खेलमा उत्कृष्ट प्रदर्शन गरेका आर.सी.बीका खेलाडी मनु पासवान म्यान अफ द म्याच घोषित भए। उक्त खेलको कमेन्ट्री ऋषभ राज गिरी ले गरेका थिए भने इम्पायरको भूमिका हाकिम ले निर्वाह गरेका थिए।




