पटेर्वा सुगौलीको गाउँसभामा ४१ करोडको बजेट पेश, ठोस परिणाम आउने संक्षीप्त योजना प्रथामिकतामा

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ ४१ करोड १९ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ ।
संघीय समानीकरण अनुदानतर्फ ९ करोड ४० लाख, प्रदेश समानीकरण अनुदानतर्फ ६६ लाख, संघीय राजस्व बाँडफाँडतर्फ ८ करोड ८९ लाख ४४ हजार, प्रदेश राजस्व बाँडफाँडतर्फ ७५ लाख, संघीय विशेष अनुदानतर्फ १ करोड, संघीय समपूरक अनुदानतर्फ १ करोड २९ लाख, संघीय सशर्त अनुदानतर्फ १६ करोड ४० लाख, आन्तरिक स्रोततर्फ १ करोड ५० लाख तथा प्रदेशको अन्य अनुदानतर्फ १ करोड ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जनाए ।
बुधबार आयोजित गाउँसभा बैठकमा गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले नीति तथा कार्यक्रम पेश गरिन । उनले स्वास्थ्य, शिक्षा, कृषि, सिँचाइ, रोजगार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम निर्माण गरिएको जानकारी दिइन् ।
गाउँपालिकाले “स्थानीय स्रोत, स्थानीय रोजगारी ” एक गाउँ, एक उद्यम, एक पहिचान, हाम्रो अभियान” भन्ने मूल नारालाई केन्द्रमा राखेर आगामी वर्षका सम्पूर्ण आर्थिक तथा विकास गतिविधि सञ्चालन गर्ने नीति लिएको उनले बताइन । उनले कार्यान्वयन गर्न सकिने संक्षिप्त तथा परिणाममुखी कार्यक्रमलाई प्राथमिकता दिइएको स्पष्ट पारिन् ।
महत्वकांक्षी योजनाको आधारमा नागरिकलाई भ्रम नछर्ने भन्दै उनले ठोस परिणााम प्राप्त हुने खालका योजना अघि सारेको बताइन । अधिवेशनलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले चालु आर्थिक वर्ष २०८२/०८३ मा हासिल भएका उपलब्धिबारे जानकारी गराए ।
उनले ग्रामीण क्षेत्रमा पहिलो पटक १५ शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएको उल्लेख गर्दै उक्त अस्पताल मधेश प्रदेशकै गाउँपालिकाद्वारा निर्माण गरिएको पहिलो अस्पताल रहेको बताए ।
गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलपछि आगामी बैठकबाट बजेट पारित गरिने गाउँपालिकाले जनाएको छ । गाउँ सभामा वडाध्यक्ष, गाउँ सभा सदस्य सहित गाउँपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।



