समाचार

गायक रामकृष्ण ढकाल पुगे प्रहरीमा

Ad 1
Ad 2
Ad 3
Ad 4

गायक रामकृष्ण ढकाल ले सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गरिएको, गालीगलौज तथा मानहानीपूर्ण सामग्री फैलाइएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

ढकालले नेपाल प्रहरीको साइबर ब्युरो, भोटाहिटीमा औपचारिक उजुरी दर्ता गराएका हुन्। साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीका अनुसार ढकालले बिहीबार उजुरी दर्ता गराएका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो व्यक्तिगत जीवन, पेशागत प्रतिष्ठा र लामो समयको मेहनतबाट बनाएको करियरमाथि नियोजित आक्रमण गरिएको भन्दै उनले कानुनी कारबाहीको माग गरेका छन्। पछिल्लो समय फेसबुक लगायत विभिन्न माध्यममा ढकालविरुद्ध गालीगलौज, भ्रामक प्रचार र चरित्र हत्या हुने सामग्रीहरू सार्वजनिक भइरहेका थिए।

उजुरीबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ढकालले स्वतन्त्रताको नाममा कसैको अस्तित्वमाथि नै धावा बोल्ने गतिविधि सहन नसकिने बताएका छन्। उनले आफूविरुद्ध जापानबाट सञ्चालित “Kekaj online Nepal” नामक फेसबुक पेजबाट निरन्तर प्रहार भइरहेको उल्लेख गरे ।

उनले फेक आइडी तथा विभिन्न पेजमार्फत घृणा फैलाउने, भ्रामक सामग्री पोस्ट गर्ने र आफ्ना चलचित्र तथा अन्य प्रोजेक्टलाई समेत लक्षित गरी मानसिक तनाव दिने व्यक्तिहरूबारे डिजिटल प्रमाणसहित विवरण बुझाएको बताएका छन्।

ढकालले सामाजिक सञ्जालमा आलोचना र बहिष्कार व्यक्तिगत स्वतन्त्रताभित्र पर्ने उल्लेख गर्दै हद नाघेर मानहानी, चरित्र हत्या र धम्की दिनेहरूमाथि मात्र कानुनी प्रक्रिया अघि बढाइएको स्पष्ट पारेका छन्।

पछिल्लो समय रवि लामिछाने लाई नख्खु कारागारबाट निकाल्ने क्रममा गाडी चलाएको विषयलाई लिएर सामाजिक सञ्जालमा ढकालको आलोचना चुलिएको थियो। त्यसयता उनीविरुद्ध विभिन्न पोस्ट र भिडियोहरू भाइरल भइरहेका छन्।

ढकालले कानुन र न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको उल्लेख गर्दै साइबर अपराधको शिकार भइरहेका अन्य व्यक्तिका लागि पनि आफ्नो कदम सन्देशमूलक हुने विश्वास व्यक्त गरेका छन्। साथै उनले आफ्नो चलचित्र मालती मंगले देशभर प्रदर्शनमा आइसकेको जानकारी दिँदै दर्शकलाई नजिकको सिनेमा हलमा गएर हेर्न आग्रह समेत गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button