विजयनगरको विकासमा नयाँ गति : १२ किमि सडकदेखि सिंचाइ र ताल पुनःनिर्माणसम्म मुख्यमन्त्रीको प्रतिबद्धता

7

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले समग्र विकासका लागि महत्वाकांक्षी योजनाहरू अघि सार्दै ज्ञापन–पत्र बुझाएका छन् ।

मुख्यमन्त्री आचार्यको विजयनगरमा भएको स्थलगत अनुगमनका क्रममा प्रस्तुत उक्त ज्ञापन–पत्रले सडक, सिंचाइ, नदी नियन्त्रण, शिक्षा र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । सो अवसरमा प्रदेश सांसद अर्जुन कुमार केसी र जानकी प्रसाद यादव सहितको टोलीले विभिन्न स्थानको प्रत्यक्ष अवलोकन समेत गरेको थियो ।

ज्ञापन–पत्रमा सुरही नदीदेखि त्रिपालनगर, जगदीशपुर, पत्थरदेइया–मयनारी हुँदै कृष्णनगर नगरपालिका–११ झिंगहा जोड्ने करिब १२ किलोमिटर कालोपत्रे सडकलाई शीर्ष प्राथमिकतामा राखिएको छ । यस सडकले क्षेत्रीय आवागमन, व्यापार तथा स्थानीय अर्थतन्त्रलाई प्रत्यक्ष टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

त्यस्तै, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको शंकरपुर ताल पुनःनिर्माणको काम रोकिएकोप्रति ध्यानाकर्षण गराउँदै शीघ्र कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गरिएको छ । नदी कटानका कारण खेतीयोग्य जमिनमा परेको जोखिम न्यूनीकरण गर्न सुरही र अर्रा नदीमा तटबन्ध तथा नियन्त्रण कार्यक्रम आवश्यक रहेको उल्लेख गरिएको छ ।

कृषि क्षेत्र सुदृढीकरणका लागि वडा नम्बर ७ परसोहिया र वडा नम्बर ३ पत्थरदेइया जोड्ने भटनी घोलामा लिफ्ट सिंचाइ योजना सञ्चालन गर्न माग गरिएको छ भने सामुदायिक तथा धार्मिक विद्यालयहरूको भौतिक अवस्था सुधार गरी टिनका छाना विस्थापन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । साथै वडा नम्बर १ अन्तर्गत नौडिहवा–गोबरहवा सडकमा पर्ने बिशवा खोलामा कल्भर्ट निर्माणको विषय पनि प्राथमिकतामा राखिएको छ ।

ज्ञापन–पत्र ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सुरही नदीदेखि झिंगहा जोड्ने १२ किलोमिटर सडक निर्माण आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा समावेश गरिने स्पष्ट पारे । विगतमा विभिन्न कारणले योजना अघि बढ्न नसकेको स्वीकार गर्दै अब आवश्यक बजेट सुनिश्चित गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रदेश सांसदद्वय केसी र यादवले समेत उक्त योजनाहरूलाई प्रदेशस्तरबाट प्राथमिकतामा राखी बजेट सुनिश्चित गर्न सक्रिय पहल गर्ने जनाएका छन् ।

Leave a comment