
वीरगन्ज,४ फाल्गुन । पर्सा क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादव को घरदैलो कार्यक्रममा मतदाताको उत्साह देखिएको छ। सोमबार पर्सागढी नगरपालिका–३ को बिरुवागुठी टोलमा भोट माग्न पुगेकी यादवसँगै प्रदेश सभा सदस्य तथा पूर्व खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल पनि घरदैलो कार्यक्रममा सहभागी भएका थिए।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले आफ्नो क्षेत्रका विभिन्न समस्या र अपेक्षा प्रत्यक्ष रूपमा उम्मेदवारसमक्ष राखेका थिए। मतदातासँग संवाद गर्दै यादवले क्षेत्रको समग्र विकासका लागि आफू राजनीतिमा सक्रिय भएको बताइन्। उनले आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। महिला सशक्तीकरण, गुणस्तरीय स्वास्थ्य सेवा, कृषिमा देखिएका नीतिगत समस्या समाधान तथा युवाका लागि अवसर सिर्जना आफ्नो मुख्य एजेन्डा रहेको उनको भनाइ थियो।
घरदैलोका क्रममा महिला, ज्येष्ठ नागरिक तथा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। स्थानीयवासीले फूलमाला र खादा लगाएर उम्मेदवार यादवलाई स्वागत गरेका थिए। धेरै मतदाताले सक्षम र सक्रिय नेतृत्वको आवश्यकता औंल्याउँदै यादवप्रति विश्वास व्यक्त गरेका थिए र यसपटक ऐतिहासिक जित दिलाउने दाबी गरेका थिए।
कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, सिता लामा तथा पूर्वमन्त्री जयसवाल,शिव पटेल,पुरन पटेल सहित स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। जयसवालले पनि घरदैलोमा सहभागी हुँदै यादवका पक्षमा मत मागेका थिए।



