पर्सामा अवैध काठसहित दुई भारतीय मोटरसाइकल बरामद,सशस्त्र प्रहरीको गस्ती टोलीको सफलता

रामनिवास कुमार पटेल
पर्सा । सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस बेलवा,पर्साबाट खटिएको गस्ती टोलीले भारतबाट ल्याइँदै गरेको अवैध काठसहित दुईवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकल बरामद गरेको छ।
आईतबार दिउँसो ४ बजे, पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३ झावराहस्थित जंगल क्षेत्रमा गस्ती गर्ने क्रममा सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनि) लोकबहादुर कार्कीको नेतृत्वमा रहेको चारजना सशस्त्र प्रहरीको मोटरसाइकल गस्ती टोलीले उक्त सामानहरू फेला पारेको हो। BR 05 BK 1953 नम्बरको अपाची(१६०) मोटरसाइकल र BR 05 BK 2619 नम्बरको सुपर स्प्लेनडर मोटरसाइकलमा लोड गरिएको अवस्थामा ३.८३ क्युबिक फिटको २ थान सालको काठ फेला परेको हो।

बरामद काठको अनुमानित मूल्य रू. ११,४९० र मोटरसाइकलहरूको संयुक्त मूल्य रू. ३,५०,००० रहेको छ। यसरी सशस्त्र प्रहरीले गरी जम्मा रू. ३,६१,४९० बराबरको काठ र मोटरसाइकल बरामद गरेको छ। बरामद गरिएको सामग्रीहरू आवश्यक कानुनी कारबाहीका लागि सव डिभिजन वन कार्यालय, सवैया, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बेस बेलवाका (सप्रनि) लोकबहादुर कार्कीले जानकारी दिएका छन्।



