बिरगंजको पशुपतिनाथ मन्दिरबाट दान पेटिका चोरी

बिरगंज, साउन २० ।
बिरगंज महानगरपालिका–१४ पिपरा स्थित चिनिमिल आवास क्षेत्रभित्र रहेको पशुपतिनाथ मन्दिरमा सोमबार राति चारवटा दान पेटिका चोरी भएको घटना बाहिरिएको छ। मन्दिर समिति तथा स्थानीय स्रोतका अनुसार सोमबारको दिनभरि मन्दिरमा दर्शनार्थीहरूको बाक्लो भीड देखिएको थियो। सोही दिन रातिको समयमा मन्दिरभित्र रहेका चारवटा दान पेटिका अज्ञात व्यक्तिहरूले चोरी गरेका हुन्।
मन्दिरका पुजारीका अनुसार ती पेटिकाहरूमा सोमबार दर्शन गर्न आएका भक्तजनहरूले चढाएको नगद, सिक्का तथा अन्य सामग्री भरिभराउ रहेको थियो। तर, यति ठूलो चोरीको घटना भएतापनि न त प्रहरीमा उजुरी दिइएको छ, न त मन्दिर समितिले सार्वजनिक जानकारी नै दिएको छ।स्थानीयहरूले बताएअनुसार घटना सोमबार राति नै भएको भए पनि यसको जानकारी मङ्गलबार साझ मात्र बाहिर आएको हो।
मन्दिर परिसरभित्र कुनै पनि सुरक्षा उपाय नहुँदा र निगरानी प्रणालीको अभावले गर्दा चोरी सजिलै सम्पन्न भएको अनुमान गरिएको छ। पेटिका चोरीको विषयमा मन्दिर समितिले हालसम्म कुनै आधिकारिक वक्तव्य दिएको छैन भने स्थानीयहरू यस्ता धार्मिक स्थलहरूमा सुरक्षा कडाइको माग गर्दै आक्रोशित देखिएका छन्।



