
बीरगंज । रसुवाको भोटेकोशीसहित विभिन्न जिल्लाका नदीहरुमा आएको विनाशकारी बाढीमा परी मधेश प्रदेशका सम्पर्कविहीनमध्ये दुई जनाको शव पहिचान गरिएको छ ।
पीडित परिवारले अनुहार, कपडा, शरीरमा रहेका ट्याटुहरू र शरीरमा भएका विशेष संकेत हेरेर शव व्यवस्थापन गर्ने ठाउँबाट सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरुबाट पहिचान गरिरहेका छन् । यसैक्रममा मधेशका सप्तरी र महोत्तरी जिल्लाका एक/एक जना शवको पहिचान भएको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी पञ्चलाल गोलेले दिएको जानकारी अनुसार महोत्तरीका सम्पर्कविहीनमध्ये गौशाला नगरपालिका–१ निवासी कुशल खपाङ्गी मगरको शव पहिचानमा आएको हो ।
उनले भने, ‘महोत्तरी जिल्लाका सम्पर्कविहीन १७ जनामध्ये ७ जना सम्पर्कमा आएका छन् भने एक जनाको मृत्यु भएको खबर आएको हो । १० जनाको अवस्था अझै अज्ञात रहेको छ ।’
उनका अनुसार पीडित परिवारले शवको सनाखत गरेका हुन् । शव सनाखत भइसकेपछि पीडित परिवार शव ल्याउन फोन आएको स्थानमा जाने तयारीमा रहेका छन् ।
यस्तै, सप्तरी प्रहरीका अनुसार बाढीमा सम्पर्कविहीन खड्क नगरपालिका–५ का सन्तोष चौधरीको शव सनाखत भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार सम्बन्धित पिडीत परिवारले सनाखत गरेको आधारमा शवको पहिचान गरिएको हो । पीडित परिवार शव बुझ्न चितवनको भरतपुर अस्पताल जाने तयारीमा रहेको छ ।
प्रहरीका अनुसार महोत्तरीका खपाङ्गीको शव रसुवामा फेला परेको थियो भने सप्तरीका चौधरीको शव पूर्वी नवलपरासीमा भेटिएको थियो ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार मधेश प्रदेशका १९५ जना बाढीमा सम्पर्कविहिन भएका हुन् । ती मध्ये ३३ जना सम्पर्कमा आइसकेका छन् भने दुईको जनाको शव फेला परेको हो र १६२ जना अझै सम्पर्कविहीन छन् ।
मधेश प्रदेश प्रहरीका प्रवक्ता एसएसपी ओमप्रकाश खनालले दिएको जानकारी सबभन्दा बढी सप्तरीका ४९ जना सम्पर्कविहीन छन् जसमध्ये एकजना मात्रै सम्पर्कमा आएका हुन् ।
यस्तै, पर्साका ४० जना सम्पर्कविहीनमध्ये २, बाराका २५ जनामध्ये २, रौतहटका १९ जनामध्ये ६, सर्लाहीका २१ जनामध्ये ३, महोत्तरीका १७ जनामध्ये ७, धनुषाका १४ जनामध्ये ७, सिरहाका १० जनामध्ये २ जना सम्पर्कमा आएका हुन् ।
प्रदेश प्रहरीले मंगलबार दिउँसो ५ बजेसम्म गरेको अपडेट अनुसार सम्पर्कविहीनमध्ये प्रदेशबाट प्रहरी कर्मचारीतर्फ १० जनामध्ये ७, नेपाली सेनामा कार्यरत ३ जनामध्ये एक जना सम्पर्कमा आएका हुन् ।



