समाचार

लघुवित्त पीडितको काठमाडौं केन्द्रित प्रदर्शन, माग पूरा नभएसम्म आन्दोलन नरोक्ने

आफूहरूले लिएको लघुवित्तको कर्जा खारेज गर्नुपर्ने मागसहित लघुवित्त पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् ।

देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् ।

लघुवित्तबाट लिएको कर्जा खारेज गर्नुपर्ने, चर्को ब्याज र जरिवाना मिनाहा गर्नुपर्ने तथा पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग राख्दै लघुवित्त पीडितहरू काठमाडौंमा आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनकारीहरूले माइतीघर मण्डला लगायत क्षेत्रमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीको दबाब र आर्थिक भारका कारण हजारौं परिवार समस्यामा परेको दाबी गरेका छन् ।

लघुवित्तका कर्मचारीहरुले आफूहरुलाई दुःख दिएको उनीहरुले गुनासो गरेका छन् ।

पीडितहरूले सरकारले पटक–पटक वार्ताको आश्वासन दिए पनि आफ्ना माग सम्बोधन नभएको गुनासो गरेका छन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

लघुवित्त पीडितको आन्दोलनसँगै काठमाडौंमा केही समय प्रदर्शन र नाराबाजी भएको थियो भने सुरक्षाका लागि नेपाल प्रहरी परिचालन गरिएको थियो ।

लघुवित्त पीडितहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

Related Articles

Back to top button