सुगंगा पुरस्कार–२०८३ हरिनारायण गौतमलाई

सुगंगा स्मृति कोष बागलुङले ‘सुगंगा पुरस्कार–२०८३’ पत्रकार हरिनारायण गौतमलाई प्रदान गर्ने भएको छ ।
कोषको हालै सम्पन्न बैठकले यही असार १८ गते गौतमलाई नगद राशि र सम्मान पत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको कोषका अध्यक्ष काजी रोशनले जानकारी दिए । अध्यक्ष रोशनका अनुसार तीन दशक लामो समयदेखि पत्रकारितामा क्रियाशील गौतमलाई यसपटक पुरस्कृत गर्ने निर्णय गरिएको हो ।
पत्रकारिताको माध्यमबाट समग्र गण्डकी प्रदेशको समसामयिक मुद्दा, विकास र जनचासोलाई निरन्तर उठाउँदै आएको योगदानको कदर गर्दै गौतमलाई पुरस्कार दिने निर्णय भएको कोषले जनाएको छ ।
ढोरपाटन राष्ट्रिय दैनिकका प्रधान सम्पादक गौतम तीन दशक बढी समयदेखि पत्रकारितामा सक्रिय छन् । धौलागिरी एफएमका अध्यक्ष समेत रहेका गौतमले यसअघि पनि पत्रकारितासँग सम्बन्धित विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।
बागलुङका वरिष्ठ पत्रकार स्वर्गीय विदुर खड्काले आफ्नी आमा सुमित्रा र श्रीमती गंगाको स्मृतिमा कोष स्थापना गरेका थिए । गंगाको २०६५ मा निधन भएपछि खड्काले यो कोष स्थापना गरी २०६६ सालदेखि पुरस्कार वितरण हुँदै आएको हो ।
कोषले प्रत्येक दुईदुई वर्षमा उक्त पुरस्कार पत्रकार लगायत सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति तथा संघसंस्थालाई प्रदान गर्दै आएको छ ।



