स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित २ जना पक्राउ

सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार अपराह्न करिब ४ः०० बजे मलंगवा नगरपालिका–१० स्थित डिम पुल क्षेत्रमा विशेष चेकजाँचका क्रममा मप्र ०५–००१ प ११०६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालकसँग रहेको स्रोत नखुलेको नेपाली नगद ३२ लाख रुपैयाँ फेला परेको हो ।
घटनामा संलग्न रहेको आरोपमा सर्लाही रामनगर गाउँपालिका–३ निवासी २८ वर्षीय गुडुकुमार यादव र रामनगर गाउँपालिका–१ निवासी २४ वर्षीय रुपेशकुमार यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहिका प्रवक्ता वेद प्रसाद गौतमले जानकारी दिए ।
प्रहरीले घटनास्थलबाट ३२ लाख रुपैयाँ नगद, दुई वटा मोटरसाइकल, ओप्पो रेनो एघार र सामसङ ग्यालेक्सी एम् ३६ मोबाइल फोन समेत बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनामाथि हुण्डी मुद्दामा अनुसन्धान भइरहेको छ ।



